त्रिशूली बस दुर्घटनाः १६ जना अझै भेटिएनन्, गोताखोरबाट खोजी गरिँदै

काठमाडौं । धादिङको त्रिशूली नदीमा शुक्रबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख नेत्रप्रसाद भट्टले एकजनाको शव सोमबार पनि फेला परेको तर त्यो शव दुर्घटनाकै हो वा अन्यत्रबाट बगेर आएको हो भन्नेबारे नखुलेको बताए । 

नौमध्ये ६ जना पुरुष र तीनजना महिला छन्  । सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको बस बिहान सवा ३ बजे त्रिशूली नदीमा खसेको थियो । ना ६ ख ७४६९ नम्बरको बस धादिङको सल्यानघाटबाट त्रिशूलीमा खसेको थियो । बसमा ४५ जना सवार रहेको र केही यात्रु बाटोमै ओर्लेको बताइएको छ । प्रहरी निरीक्षक भट्टका अनुसार १६ जना अझै बेपत्ता भएको खुलेको छ ।

उनीहरुको सशस्त्र प्रहरी बलको गोताखोर टोली लगायतले खोजी गरिरहेको छ । यसबाहेक चितवन, गोरखा, तनहुँ, नवलपरासी क्षेत्रमा समेत खोजी कार्य जारी छ ।