प्रचण्डलाई ‘अर्धपागल’ बन्न सुझाव आएपछि…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू साहित्यिक हृदयको भएको बताएका छन् । शमी मासिक साहित्यिक पत्रिका तथा झरीको सौन्दर्य निबन्ध संग्रह लोकार्पण गर्दै उनले आफू भावनात्मक व्यक्ति भएको बताएका हुन् ।अनि मञ्चको अग्रपंतिमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ नेता माधवकुमार नेपाल, काँग्रेसका वरिष्ठ नेता राचन्द्र पौडेल र शताब्दी पुरुष सत्यमोहन जोशीलगायतका व्यक्तित्व आसीन भए ।

कार्यक्रमको सुरुमा ‘झरीको सौन्दर्य’ माथि कवि बेञ्जु शर्मा, प्रा.देवी गौतम, प्रा.राजेन्द्र सुवेदी लगायतले प्रकाश पारे । उनीहरुले निबन्ध ‘झरीको सौन्दर्य’मा नेता शार्मा सबै पक्षमा पोखिएको बताएका थिए ।

प्रचण्डलाई अर्धपागल बन्न गरिएको जोड

कवि शर्माले ‘झरीको सौन्दर्य’ माथि प्रकाश पार्ने क्रममा प्रचण्डलाई अर्धपागल बन्न आग्रह गरिन् । उनले भनिन्, ‘साहित्य भनेको मान्छेलाई अर्धपागल बनाउने विधा हो । जसले समाज र देशको परिवेश र दुःख राम्रोसँग नियाल्छ । देश विकासका लागि प्रचण्डजी दिनानाथ शर्मा झै अर्धपागल बन्नुहोस ।

देशले विकासमा गति लिन्छ कि ?’ यस्तै प्रा माधव पोखरेलले त प्रचण्डलाई जनयुद्ध व्यवस्थापनको अनुभवसहितको आलेख लेख्न आग्रह गरे । साथै उनले काँग्रेसले हिजोका कुरा छ, नेकपाले भोलीको कुरा गर्छ । साहित्यले आजको कुरा गर्छ । त्यसैले पनि साहित्यको विकास आवश्यक छ ।’ प्रचण्ड अर्धपागल बन्नुपर्छ भन्ने प्रसंगमा काँग्रेस नेता पौडेलले अब प्रचण्डलाई बौलाउन नहुने तर्क गरे । 

पौडेलले भने, ‘प्रचण्ड पहिले नै बौलाइसके । प्रचण्डलाई कति बौलाउने ? उहाँ बौलाउँदा यत्रो भइसक्यो । अब बौलाउने बेला होइन ।’ नेता नेपालले साहित्य काँग्रेस नेकपाको बीचमा रहेको विषयभन्दा पनि माथि गरेको तर्क गरे । आफूलाई अर्धपागल बन्न दिएको सुझावप्रति प्रचण्डले विमति जानए । 

उनले भने, ‘यहाँ अर्धपागल हुनुपर्ने कुरा आयो । हामी देशप्रति चिन्तित नभइ यहाँ सम्म आएका हैनौँ । म मेट्रिक पास गर्दा देखिनै साहित्यमा निकै रुचि राख्ने व्यक्ति हुँ । म विद्रोहको रुप पनि साहित्यमा लाग्दा लाग्दै आएको हो । म मा साहित्यको अनुराग थियो र छ । साहित्यबारे चासो अहिले पनि छ । लेख्ने वातावरण बनेको छैन ।’

उनले आफू अर्धपागल भएर नै विद्रोहमा लागेको पनि बताए । ‘मैले युवा अवस्थामा धेरै साहित्यिक पुस्तक पढेँ । विकृतिकै कारण विद्रोही चेत आयो । म अर्धपागल भएर राजनीतिमा लाग्नुमा साहित्यको देन छ ।’