६.२० अंकले बढेको नेप्से १२६५.५७ विन्दुमा बन्द, लघुवित्त समूहले बढायो समग्र बजार

बुधवारको बजारमा नेप्से परिसूचक बढेर बन्द भएको छ । नेप्से यसदिन कारोबार अवधिभर ६ दशमलव २० अंक बढेर १ हजार २६५ दशमलव ५७ विन्दुमा बन्द भएको छ । १ हजार २५९ दशमलव ५४ विन्दुबाट शुरु भएको परिसूचक कारोबार शुरु भएको पहिलो आधा घण्टाको समयमा झिनो अंकले घटबढ भएको थियो । पहिलो घण्टाको अवधिसम्ममा सामान्य अन्तरले घटबढ भएको परिसूचक १ हजार २५७ दशमलव ९१ विन्दु पश्चात बढेर यस दिनकै उच्च विन्दु १ हजार २६७ दशमलव ७३ विन्दुसम्म पुगेको थियो । सो विन्दु पश्चात घटबढ हुँदै नेप्से परिसूचक अन्त्यमा बढेर बन्द भएको छ ।

साउन १ गतेदेखि धितोपत्र कारोबारमा भारित औषत लागतको आधारमा पूँजीगत लाभकर गणना गर्नुपर्ने विषयमा सरोकार निकायविच रहेको अन्योलता बुधवार हट्ने देखिएपछि लगानीकर्ताहरु पनि कारोबारमा उत्साहित भएका हुन् । साउन ८ गते सरोकारवालाहरुबिच लाभकर गणना प्रविधिमैत्री बनाउन आधारमूल्य तोकिनुपर्ने सहमति अर्थमन्त्रालयबाट स्वीकृति भएपश्चात बजारमा सकारात्मक प्रभाव देखिएको हो । बुधवारनै अर्थमन्त्रालयले बिक्रम सम्बत् २०५८ असार मसान्तदेखि २०७६ असार मसान्तसम्मको कारोबारको आधारमा औषत मूल्य तोक्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ ।

यस दिनको कारोबारमा आएका १२ समूहमध्ये विकास बैंक समूहको परिसूचक बाहेक बाँकी समूहहरुको परिसूचक बढेर बन्द हुँदा समग्र नेप्से परिसूचक शून्य दशमलव ४९ बढ्न पुगेको हो । लघुवित्त समूह अन्र्तगतका अधिकांश कम्पनीहरुको शेयरमूल्य ९ प्रतिशतभन्दा बढेर कारोबार हुँदा लघुवित्त समूह र समग्र नेप्से बजार बढेर बन्द भएको छ । लघुवित्त समूहको परिसूचक सर्वाधिक बढी ३ दशमलव ४९ प्रतिशत बढेको छ । यस्तै, व्यापार समूह र निर्जीवन बीमा समूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक समूहको परिसूचक शून्य दशमलव शून्य ५ प्रतिशत बढेको छ ।

बुधवारको कारोबार
बुधवार रू. ३५ करोड ७८ लाख बराबरको शेयर कारोबार भएको छ । यो अघिल्लो दिनको तुलनामा २१ दशमलव ४८ प्रतिशत बढेको हो । मंगलवार रू. २९ करोड ४३ लाख रकम बराबरको कारोबार भएको थियो । सेन्सेटिभ इन्डेक्स १ दशमलव १ अंक बढेर २ सय ७३ दशमलव २४ विन्दुमा पुगेको छ ।