राजस्वै नतिरी अर्बौंको कारोबार, सिसडोल पुर्‍याउनुपर्ने फोहोर सेटिङ मिलाएर टेकुमै

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाको हो । तर, घरघरबाट निजी कम्पनीले फोहोर उठाउँछन् । फोहोर उठाउने यस्ता निजी कम्पनी ३१ वटा छन् । उनीहरुले घरधनी तथा डेरावालबाट आफूखुसी मासिक पैसा उठाउँछन् । तर, सरकारलाई राजस्व भने तिर्दैनन् । सरकारले वास्ता नगरेपछि काठमाडौं उपत्यकामा फोहोर संकलन गर्ने यस्ता कम्पनीले राजस्व नतिरी वार्षिक अर्बौं रुपैयाँको कारोबार गरिरहेका छन् । यो क्रम झन्डै ३० वर्षदेखि चलिरहेको छ ।

०५२ सालमा स्थापना भएपछि फोहोर संकलन र व्यवस्थापनको जिम्मा काठमाडौं महानगरपालिकाले पायो । तर, उसले आर्थिक र प्राविधिक मूल्यांकनबिनै प्रतिष्पर्धा गरेर ठेक्का नलगाई विभिन्न निजी कम्पनीलाई फोहोर संकलनको जिम्मा दियो । महानगरपालिका एक्लैले फोहोर संकलन र व्यवस्थापन गर्न नसकेपछि निजी क्षेत्रमार्फत् फोहोर संकलन र व्यवस्थापनको जिम्मा दिइएको महानगरका अधिकारीहरु तर्क गर्छन् ।

फोहोर संकलन गर्ने निजी कम्पनीका लागि महानगरपालिकाले निश्चित मापदण्ड समेत तोकेको छैन । सातामा एकदेखि दुई पटकसम्म फोहोर उठाएबापत निजी कम्पनीले घरधनीसँग मासिक ३५० रुपैयाँसम्म उठाउँछन् । ठूला कार्यालय, अपार्टमेन्ट, अस्पताल आदिले त ५० हजारसम्म तिर्छन् । दसैं, तिहारको समयमा यस्ता कम्पनीले थप शुल्कसमेत लिँदै आएका छन् ।

चाखलाग्दो कुरा त यस्ता सबै कम्पनीहरुको यकिन तथ्यांकसमेत महानगरपालिकासँग छैन । कामनपा वातावरण विभाग प्रमुख हरि श्रेष्ठ फोहोर संकलन गर्ने निजी कम्पनीहरुलाई एकीकृत गर्न नसकिएको स्वीकार्छन् । “यो बेथिति अहिलेदेखिको होइन, यसलाई व्यवस्थित गर्न गाह्रो छ,” श्रेष्ठ भन्छन् ।

काठमाडौंको फोहोर सिसडोल पुर्याउन महानगरसँग १७ वटा गाडी छन् । तर, सबै फोहोर सिसडोल पुर्याउन यति गाडी पर्याप्त छैनन् । यसका लागि निजी क्षेत्रका झन्डै डेढ सय गाडी छन् ।

यहाँको फोहोर सिसडोल पुर्याउँदा सानो गाडीले प्रतिट्रिप २५० र ठूलो गाडीले ३५० रुपैयाँ बुझाउनुपर्ने व्यवस्था विभागले गरेको छ । तर पनि सबै गाडीले ट्रिपअनुसारको रकम सिसडोलस्थित विभागको सम्पर्क कार्यालयमा बुझाउँदैनन् । सबैलाई महानगरले करको दायरामा ल्याउन सकेको छैन । “कति र कस्ता गाडी, कति कामदार भएका कम्पनीलाई फोहोर उठाउन दिने भन्ने मापदण्ड तोक्न पनि गाह्रो छ,” विभाग प्रमुख श्रेष्ठले बाह्रखरीसँग भने, “कम्पनीको आर्थिक र प्राविधिक मापदण्ड नतोकिएको अहिलेको अवस्थामा कम्पनी मूल्यांकन गरी ठेक्का आह्वान गरेर काम लगाउन नसकिएको हो ।”

हाल काठमाडौं उपत्यकामा ३१ वटा निजी कम्पनीले फोहोर संकलन गरिरहेका छन् । यी कम्पनीले करिब २६५ वटा रिक्सा प्रयोग गरिरहेको महानगरको तथ्यांक छ । यी कम्पनीले काठमाडौं उपत्यकाका विभिन्न स्थानका १ लाख १२ हजार ४८ घरबाट हप्तामा दुई दिनका दरले फोहोर उठाउँदै आएका छन् । यी संख्याका घरमा निजी कम्पनीले घरधनीसँग उठाउने न्यूनतम शुल्कको हिसाब गर्ने हो भने पनि मासिक झन्डै चार कराेड हुन आउँछ ।

अस्पताल, अपार्टमेन्ट, हाउजिङ, ठूला कार्यालय आदि धेरै फोहोर उत्सर्जन गर्नेहरुबाट कम्पनीले मासिक ५० हजारसम्म रकम उठाउने गर्छन् । यति ठूलो कारोबार हुने क्षेत्रबाट पनि महानगरले राजस्व उठाउन सकेको छैन । सरकारले व्यवस्थित रुपमा निजी क्षेत्र परिचालन गर्ने हो भने फोहोर व्यवस्थापनका लागि घरधनीले मासिक रुपमा तिर्ने रकम धेरै सस्तो पर्ने विज्ञहरु बताउँछन् । फोहोर संकलनमा संलग्न निजी क्षेत्रलाई करको दायरामा ल्याउनसक्ने अधिकार संविधानले स्थानीय तहलाई दिइसकेको छ ।

यी हुन् फोहोर उठाउने निजी कम्पनी

प्राक्टिकल वेष्ट सोलुसन प्रालि
परिवर्तन सेवा प्रालि
सिसडोल सरसफाई केन्द्र
वानेश्वर महिला वातावरण सेवा प्रालि
नेप्सेम्याक सेवा प्रालि
वेस्ट मेनेजमेन्ट सर्भिस काठमाडौं प्रालि
एक्सन वेस्ट प्रालि
नेपाल प्रदूषण नियन्त्रण तथा स्वस्थ समाज केन्द्र प्रालि केपी क्लिनिङ्ग सर्भिस प्रालि
हिमालयन वातावरण संरक्षण प्रालि
वेस्ट कन्सर्न प्रालि
नेपाल वातावरण सिर्जना प्रालि
स्वच्छ समाज सुधार विकास केन्द्र प्रालि
काठमाडौं सफाइ अभियान सेवा प्रालि
स्वच्छ वातावरण संरक्षण नेपाल प्रालि
मनोहरा वेस्ट मेनेजमेन्ट प्रालि
क्लिन नेपाली प्रालि
जनजागरुक वातावरण संरक्षण प्रालि
वातावरण स्वर्गद्वारी सेनिटेसन प्रालि
नेपाल फूलबारी सेवा प्रालि
क्लियर कट सेवा प्रालि
इन्भाइरोमेन्ट कन्जरभेसन इनिसियटिभ नेपाल प्रालि
ठमेल मोबाइल क्लिनिङ सर्भिसेज प्रालि
बि एण्ड पि क्लिनिङ सर्भिस प्रालि
सिन्धु सर्भिसेज एन्ड सप्लायर्स प्रालि
मेट्रोसिटी वेस्ट मेनेजमेन्ट प्रालि
एक्टिभ नेपाल प्रालि
ग्रीनसिटी सेनिटेसन प्रालि
सिभिल वातावरण संरक्षण अभियान प्रालि
एलबि क्लिनिङ सर्भिस प्रालि
बौद्ध जोरपाटी सरसफाइ व्यवस्थापन प्रालि 

महानगरका चालक र कर्मचारीसँग निजी कम्पनीको साँठगाँठ !

फोहोर बोकेको गाडी काठमाडौंदेखि सिसडोलसम्म पुग्दा २७ किमि सडक छिचोल्नुपर्छ । यसका लागि प्रतिटिपर करिब ३० लिटर डिजल खपत हुन्छ भने चालक र लोड, अनलोडसमेत गरेर करिब १ हजार रुपैयाँ एक ट्रिपमा खर्च हुने बताउँछन् महानगरपालिका वातावरण व्यवस्थापन विभागका निर्देशक पुरुषोत्तम शाक्य । तर निजी कम्पनीले महानगरपालिकाका गाडी चालक र मातहत तहका कर्मचारीसँग सेटिङ मिलाएर सिसडोल पुर्याउनुपर्ने फोहोर केही सय रुपैयाँ तिरेर टेकुस्थित फोहोर ट्रान्सफर स्टेसनमै फ्याँक्ने गरेका छन् ।

“खासमा यहाँ महानगरपालिकाले विभिन्न स्थानबाट संकलन गरेर साना गाडीमा ल्याएको फोहोर राख्ने र ठूला गाडीमा लोड गरेर तुरुन्तै सिसडोल लगिहाल्ने गरी स्थानीयसँग सहमति भएको हो । तर महानगरपालिकाले निजी कम्पनीले संकलन गरेको फोहोरसमेत आर्थिक चलखेल गरेर यहीं थुपार्ने गरेका छन्,” टेकुका स्थानीय तथा विश्वेश्वर स्पोर्ट युवा क्लबका अध्यक्ष भूषण बज्राचार्यले भने, “फोहोरको दुर्गन्धले दिनरात सताउँछ । वडा कार्यालयले निःशुल्क दिने भनेको बेगनलगायतका औषधि पनि सजिलै पाएका छैनौं । सिसडोलबासीसँग महानगरपालिकाको गिभ एण्ड टेक नमिलेको मर्का हामीले खप्नुपरेको छ । ट्रान्सर्फर स्टेशनमा हप्तौंसम्म फोहोर थुपारेर मेयर र वडाध्यक्षज्यूले हामीमाथि अन्याय गर्दै आउनु भएको छ ।” https://baahrakhari.com COPY