उद्योगमा लगानी घट्यो, वैदेशिक लगानी पनि आधाभन्दा कम

काठमाडौं । सरकारले निजी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको र उद्योगमा लगानी गर्ने अवसर सिर्जना भएको बताइरहँदा उद्योग स्थापनामा भने आकर्षण देखिएको छैन । गतवर्षको तुलनामा उद्योेग विभागमा दर्ताको भएको नयाँ उद्योग संख्या र कुल पुँजी विश्लेषणका आधारणमा सरकारको लोभलाग्दो नाराले उद्योगमा लगानी क्रम प्रभाव नपरेको देखिएको हो ।

विभागका अनुसार आर्थिक वर्ष २०७५–७६ मा उद्योग विभागमा ४ सय ३६ उद्योग दर्ता भएका छन् । यो संख्या आर्थिक वर्ष २०७४–७५ भन्दा ६२ उद्योग कम हो । अघिल्लो आवमा उद्योग विभागमा ४ सय ९८ उद्योग दर्ता भएका थिए ।

आव २०७५–७६ मा दर्ता भएका उद्योगमध्ये उत्पादनमूलक क्षेत्रमा सबैभन्दा धेरै १ सय १८ उद्योग दर्ता भएका छन् । यसैगरी कृषि तथा वन्यजन्तु क्षेत्रमा २७ उद्योग दर्ता भएका छन् भने निर्माण क्षेत्रमा ३ उद्योग, ऊर्जामूलक क्षेत्रमा ४७ उद्योग दर्ता भएका छन् । विभागका अनुसार सूचना, प्रसारण तथा सञ्चार प्रविधि क्षेत्रमा २१, खनिजमा १, सेवामूलकमा १ सय २ र पर्यटन क्षेत्रमा १ सय १७ उद्योग दर्ता भएका छन् ।

कम उद्योग दर्ता भएका कारण उद्योगमा हुने पुँजी परिचालन र ती उद्योगले गर्ने रोजगारी सिर्जना पनि घटेको छ  । उद्योग विभागमा गत आवमा दर्ता भएका ४ सय ३६ उद्योगको कूल पूँजी २ खर्ब ८२ अर्ब ६६ करोड ९२ लाख ९० हजार रुपैयाँ रहेको छ । यस अवधिमा दर्ता भएका उद्योगले २२ हजार ९ सय ६१ जनालाई रोजगारी दिने क्षमता राख्छन् । 

आव २०७४–७५ मा ३ खर्ब ५० अर्ब रुपैयाँ पुँजी परिचालन गर्ने गरी ४ सय ९८ उद्योग स्थापना भएका थिए । ती उद्योगले २७ हजार ३ सय ८२ जनालाई रोजगारी दिने क्षमता राख्थे ।

अघिल्लो वर्ष कृषि तथा वन्यजन्तु क्षेत्रमा २२ उद्योग दर्ता भएका थिए । त्यसैगरी,  निर्माण क्षेत्रमा ४ उद्योग, ऊर्जा क्षेत्रमा ३९, सूचना, प्रसारण तथा सञ्चार प्रविधि क्षेत्रमा २४, उत्पादनमूलक क्षेत्रमा १ सय ३२, खनिजमा ४, सेवामूलकमा १ सय १४, र पर्यटन क्षेत्रमा सबैभन्दा धेरै १ सय ५९ उद्योग दर्ता भएका थिए ।

उद्योग विभागका अनुसार गत आवमा उद्योगमा वैदेशिक लगानी पनि घटेको छ । आर्थिक वर्ष २०७४–७५ मा दर्ता भएका कुल ४ सय ९८ उद्योगमध्ये ३ सय ९९ उद्योगले वैदेशिक लगानी भित्र्याउने प्रतिवद्धता गरेकोमा गत आव सो संख्या घटेर ३ सय ३७ पुगेको हो ।

अघिल्लो आव ३ सय ९९ उद्योगमा ६१ अर्ब ३४ करोड ९१ लाख १० हजार रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । आर्थिक वर्ष २०७५–७६ मा  दर्ता भएका उद्योगले २८ अर्ब ४१ करोड रुपैयाँ वैदेशिक लगानी भित्र्याउने प्रतिवद्धता गरेको देखिन्छ । यी उद्योगले १४ हजार १ सय २ जनालाई रोजगारी प्रदान गर्ने क्षमता राख्छन्