सभामुखले ‘हुन्छ’ भन्नुभएको थियो, कसैले तर्सायो होला संसद स्थगित गर्नुभयो: देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोबाट जनधनको क्षति भएका बेला संसद स्थगित गरेको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभा बैठकमा भाग लिन सोमबार संसद पुगेका देउवाले संसद बैठक स्थगित भएपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै विपदका बेला झन् बढी छलफल गर्नुपर्नेमा संसद स्थगित गरेकोमा आपत्ति जनाएका हुन्।

‘बाढीपहिरो, डुबानले राष्ट्रलाई क्षति भएका बेला संसद स्थगित गर्ने?,’ देउवाले प्रश्न गरे, ‘हामीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थियौं विपदबारे छलफल गर्न। सबै मिलेर छलफल गरी अघि बढ्नुपर्ने बेला संसद स्थगित गरिदिने?’

संसद स्थगित गरेकोमा सभापति देउवाले सभामुख महराको भूमिकाप्रति पनि प्रश्न उठाएका छन्।

‘सभामुखले पहिले बैठक चल्छ भन्नुभएको हो। पछि कसैले तर्सायो होला डराउनुभयो,’ देउवाले भने, ‘विपदको समाधान गर्न व्यापक छलफल गरेर सँगसँगै सबै मिलेर जाऔं भन्ने हाम्रो प्रस्ताव थियो।’ आफ्नो पार्टीका कार्यकर्तालाई पीडितको उद्धार र राहतका खट्न निर्देशन दिएका देउवाले संसदमा छलफल गरी सबै ऐक्यवद्ध भएर बाढीपीडितका पक्षमा लाग्नु पर्नेमा जोड दिए।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले बाढीपहिरोसँग सम्बन्धित अत्यन्त जरूरीको सार्वजनिक महत्वको प्रस्ताव सांसद मीनेन्द्र रिजालले दर्ता गराए पनि छलफलका लागि सत्तापक्ष सकारात्मक नदेखिएको बताए।

विपदका बेला सबै शक्ति aएकजुट भई सामना गर्न, जनतालाई विश्वास र भरोसा दिलाउनुपर्ने भए पनि संसदमा छलफल नै नहुनु दु:खद भएको खाँणको भनाइ छ।a