‘मेरो विरोध गर्नकै लागि केहीले मास्क लगाउन थालेका छन्, यो त स्वास्थ्यका लागि राम्रो हो नि !’

असार २०, २०७६

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार बनेपछि मास्क लगाउनेहरू घटेको भन्ने अभिव्यक्तिको प्रतिरक्षा गरेका छन् ।

मदन भण्डारीको जन्मजयन्तिका अवसरमा केही दिनअघि नेकपाले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा सरकार बनेपछि मास्क लगाउनेहरू देखिन छाडेको बताएका थिए ।

शुक्रवार पार्टी मुख्यालय धुम्बाराहीबाट प्रधानमन्त्री ओलीले उक्त अभिव्यक्तिको प्रतिरक्षा गरेका हुन् ।

समाजवादी पार्टीबाट नेकपामा प्रवेश गरेका पूर्व नयाँ शक्ति नेताहरूलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले भने– ‘मेरो नेतृत्वमा सरकार बन्ने बेलामा धूलोका कारण मास्क नलगाई हिँड्न सक्ने अवस्था नै थिएन, अहिले त्यो घटेको छ भनेको थिएँ केही तत्वहरूले मेरो विरोध गर्नकै लागि मास्क लगाउन थालेका छन् । मास्क लगाउने बानी बसाल्नु त स्वास्थ्यका लागि राम्रो हो नि !’

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले बाबुराम (डा. बाबुराम भट्टराई) मात्र नभएर फोरम पनि नेकपामा अटाउन सक्ने बताए ।

‘केहीबेरअघि प्रचण्डजीले बाबुरामजीलाई पार्टीमा आउन आह्वान गर्नुभयो, बाबुरामजी मात्र किन ? फोरमकाहरू पनि आउनुस् न । नअटाउने कुरै छैन,’ ओलीले भने, ‘अरू पार्टीमा लागेर अल्मलिएका साथीहरूलाई म हार्दिक रूपमा आह्वान गर्दछु ।’

उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल मिलेर केही समयअघि समाजवादी पार्टी बनेको थियो ।

प्रधानमन्त्री ओलीले आइफा अवार्डबारे सरकारी तहबाट निर्णय नै नभई विरोध गरिएको भन्दै असन्तुष्ट पनि जनाए । देशलाई फाइदा हुने देखे आफूले आइफा अवार्ड गर्न दिने उनको भनाइ थियो ।