सान्जेन र रसुवागढी हाइड्रोपावरले जनताको करोडौं रुपैयाँ सम्पति बन्धक बनाए

जनताको जलविद्युत कार्यक्रम आइपीओ अन्तर्गत जारी गरेका यी दुई हाइड्रोपावर कम्पनीको आइपीओ नेप्सेमा सूचीकरण नहुँदा सर्वसाधारणको लगानी विगत २ महिनादेखि बन्धक बनेको हो । सान्जेन र रसुवागढी हाइड्रोपावर दुवै कम्पनीले आइपीओ बाँडफाँट गरेको २ महिना भन्दा बढी समय बितिसकेको छ । यी दुवै कम्पनीले धितोपत्र बोर्डको नियम अनुसार सेयर सूचीकरण गर्नुपर्ने समय घर्काइसकेका छन् । धितोपत्र खरिद तथा सार्वजनिक निष्कासन सम्बन्धी निर्देशिका २०७३ का अनुसार आइपीओ बाँडफाँट भएको ३ कार्यदिन भित्र बैंक तथा वित्तीय संस्थाले सेयर परे बराबरको रकम बिक्री प्रबन्धकको खातामा जम्मा गुर्नपर्ने हुन्छ ।

यसको २ कार्यदिन भित्र बिक्री प्रबन्धकले त्यस्तो रकम निष्कासनकर्ता कम्पनीको खातामा जम्मा गरी अर्को ७ कार्यदिन भित्र लगानीकर्ताको डिम्याट खातामा सेयर पठाउनुपर्ने हुन्छ । लगानीकर्ताको खातामा सेयर जम्मा भएपछि नेप्सेमा सूचीकरण गरी कारोबार सुरु हुने गर्छ ।

यी सबै काम २ सातामै गर्न सकिन्छ । तर सान्जेन र रसुवागढीको आइपीओ सूचीकृत हुने समय भने झन्झन् पर धकेलिँदै गएको छ । तर यो नियम कार्यान्वयन नहुँदा पनि नियामक निकाय धितोपत्र बोर्ड, नेप्से तथा सीडीएस तथा क्लियरिङ लिमिटेडले कुनै पनि कारवाही गर्न सकेका छैनन् । कानुनको उपहास भइरहँदा पनि टुलुटुल हेर्ने काम मात्र भइरहेको लगानीकर्ताको गुनासो रहेको छ