वैदेशिक रोजगारीमा लुटका दर्जन श्रृंखला र सुधार

आशिष ढुंगाना

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी बल बहादुर तामाङ तुलनात्मक रुपमा असलहरुमा गनिन्थे । तर उनलाई १९ करोड ५७ लाख दावी तथा जरिवानासहित राजश्व अनुसन्धान विभागले मुद्धा दायर गर्यो । यहि एउटा मात्रै उदाहरण नै पर्याप्त हुन्छ की वैदेशिक रोजगार व्यवसाय भित्र कति अनियमितता र लुट छ भन्ने कुरा । असल भनिएकाहरु भित्रभित्रै यति मक्किसकेका रहेछन् भने बदनाम भनिएकाहरु कस्ता होलान् ? अन्दाज लगाउन सकिन्छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्ट भन्छन–‘नेपाली समाजको सबै भन्दा डर लाग्दो अनियमितता भैरहेको क्षेत्र यहि हो, यसमा सुधार गर्न नसके भावी पुस्ताले धिक्कार्नेछ ।’ दैनिक एक हजार भन्दा धेरै नेपाली युवा विदेशिन्छन् । तीमध्ये अधिकांश खाडीको राफतापमा आफ्नो पसिना बगाउँछन् । फर्कदा जोश सकिन्छ, जाँगर सकिन्छ, त्यस्तै परे अंगभंग हुन्छन्, दैनिक ३ जना भन्दा बढीको त लास मात्रै फर्कन्छ । बलिया पाखुरा र जोश बोकेर विदेशिएकाहरु स्वदेश फर्कँदाको मनोदशा नै छुट्टै भैसकेको हुन्छ । विदेश जाने सोँच बनाउँदादेखि विदेशबाट स्वदेश फर्कँदासम्म उनीहरु माथी दर्जन पटक लुटको श्रृंखला मच्चाइन्छ ।

यसरी सुरु हुन्छ लुटको धन्दा 
गाउँमा नागरिकता बनाउँदाबाटै सुरु हुन्छ लुटको धन्दा । कसैलाई चाँडै बनाउनुपर्ने बाध्यता त कसैलाई उमेरै उमेर बढाएरै पनि नागरिकता बनाएर परदेशिनै पर्ने बाध्यता हुन्छ । त्यही उनीहरु पहिलो पटक लुटिन्छन् । त्यसपछि पासपोर्ट बनाउँदा दलाल र कर्मचारीले दोश्रो पटक ठग्छन् । मेनपावरसम्म पुग्दा पुनः अर्काे दलालको जालोमा फस्न बाध्य पारिन्छन् । मेन पावरसँगै अभिमुखीकरण, स्वास्थ्य परिक्षण, पुलिस रिपोर्ट हुँदै म्यादी बीमा गराउँदासम्म उनीहरुमाथी ठगीको क्रम जारी रहन्छ ।

श्रम स्वीकृतिको कागजागतमा फेरी लुटिन्छन् । राम्रो तलब र सुबिधा सहितको फाइल श्रम विभागबाट स्वीकृत गराएर ल्याइन्छ तर हातमा भने थोरै तलब र सुबिधाको पत्र थमाइन्छ । श्रम कार्यालयबाट ल्याईएको फाइल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिरै डस्टबिनमा फालिन्छ । फ्रि भिसा र फ्रि टिकेटका नाममा १० हजारको बिल थमाएर एक लाख भन्दा बढी असुलिन्छ ।

सुधार कसरी ? 
मन्त्री बिष्टका लागि वैदेशिक रोजगार व्यवसायलाई सुधार गर्ने एउटै छडी भनेको नीतिगत सुधार नै हो । उनी वैदेशिक रोजगार व्यवसायीसँग औपचारिक सम्वाद गर्न समेत तयार छैनन् । भन्छन–बदमासहरुसँग छलफल आवश्यक छैन्, उनीहरु कारवाहीको भागीदार छन्, तिनको लुट रोक्नु नै अहिलेका लागि मुल काम हो ।’

बिष्टले आफु मन्त्री बने लगत्तै केहि नीतिगत सुधार पनि गरिसकेका छन् । मलेसियाको वैदेशिक रोजगारीमा रहेको लुटलाई रोकेका उनी अब कतार तर्फ केन्द्रित भएका छन् । जापानमा इपिएस मोडलमा नेपाली कामदार पठाउने अभियानमा उनले आंशिक सफलता पाईसकेका छन् ।
‘नेपालमा पैसा कमाउन विदेश जानै पर्ने पर्छ भन्ने सामाजिक मनोविज्ञान स्थापित भएको छ, तर हामी अधिकांश अदक्ष जनशक्ति पठाईरहेका छौं, अब अर्ध दक्ष र अदक्ष कामगार पठाउनु पर्छ’, बिष्टले भने ।

हाल अभिमुखीकरणका नाममा प्रमाणपत्रको व्यापार भैरहेको आरोप पनि उनले लगाए । स्वास्थ्य परिक्षण, भिसा प्रोसेसिङ र अभिमुखीकरणका नाममा प्रमाणपत्र र कागजका खोस्टा बेच्ने काम भैरहेको उनको निष्कर्ष छ । बिष्टले मन्त्रालय सम्हालेपछि मात्रै ताहाचल श्रम कार्यालय प्रमुखका रुपमा तेश्रो व्यक्तिलाई खटाईसकेका छन् । पहिले पठाएका कार्यालय प्रमुखहरुले सोचे अनुसार काम गर्न नसकेपछि उनले लगातार नेतृत्व बदलेका हुन् ।

उनले आगामी पाँच बर्षभित्र रोजगारीका लागि विदेश जानै पर्ने बाध्यताको अन्त्य गरिने जिकिर पनि गर्दै आएका छन् । ‘पाँच बर्षभित्र बाध्यताको वैदेशिक रोजगारीको अन्त्य हुनेछ, स्वेच्छाले जाने कुरा संसारभर हुन्छ र नेपालमा पनि त्यो निरन्तर रहन्छ’, बिष्टले भने ।
मन्त्री बिष्टले घरेलु कामदारका रुपमा गलत बाटोबाट विदेश गएर बिदा मनाउन नेपाल आएका कामदारहरुलाई कागजात हेरेर पुनः श्रम स्वीकृति दिनुपर्ने धारणा पनि सार्वजनिक रुपमा राख्दै आएका छन् । ‘भिसा छ, काम गर्ने अनुमति पनि पाएको छ, सेवा सुबिधा पनि राम्रै छ भने घरेलु कामदारलाई पुनः जान दिनुपर्छ’, मन्त्री बिष्टले भने ।

विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार गर्नु राज्यको दायित्व हो भन्ने तथ्यलाई उनी पनि स्वीकार गर्छन् । तर गलत बाटोबाट विदेश जाने प्रक्रियालाई निरुत्साहित पार्न कर्मचारी संयन्त्र कठोर बन्नुपर्ने उनको ठम्याई छ । ‘संसारका जुनसुकै देशमा अलपत्र परेका नेपालीहरुको उद्धार गर्नु सरकारको दायित्व हो, गलत बाटोबाट विदेशिने क्रमलाई रोक्नुपर्छ’, मन्त्री बिष्टले भने ।

केपी ओली नेतृत्वको २ तिहाई जनमत प्राप्त बामपन्थी सरकारमा बिष्टले केहि सुधारका काम गरिरहेका छन् । आम नेपालीको अनिवार्य हिस्सा बनिसकेको वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने मात्रै होइन उनले सामाजिक सुरक्षा कोषलाई समेत कार्यान्वयन समेत अघि बढाईसकेका छन् ।

Leave a Reply

Your email address will not be published.