मंसिर महिना बिवाहको महिना तनाब वा उत्साह

यो मंसिर महिना हो । हरेक चिजबीचको आ आफ्नै विशेषता भए जस्तै यसको पनि आफ्नै विशेषता छ हामी माझ । हामीले नेपाली समाजमा आधारित भएर भन्ने हो भने यो महिनाले आफुलाई विवाहसँग जोडिएर परिभाषित गर्ने गरेको छ । अझ भनौँ हामीले त्यसरी परिभाषा गर्ने गरेका छौँ ।

तपाईँ पनि यतिबेला विभिन्न वाहानाले विवाहको रौनकसँग नजिक हुनुभएको होला । हुनसक्छ तपाईँ बेहुला भएर अथवा बेहुली भएर, अथवा बेहुला बेहुलीको परिवार र आफन्त भएर, अथवा निम्तालु भएर । यस्तै विविध साइनो तपाईँको पनि गाँसिएको होला यो मंसिर महिनासँग ।

सबैलाई विवाहको एउटा माहोलसँग जोड्ने भएकोले पनि यो महिनालाई एउटा बेग्लै उमङ्ग थपिदिने महिना भनेर पनि बुझ्छौँ हामी । धेरैलाई जोडी मिलाइदिने महिना हो यो । यसको रुप पक्ष यही नै हो । तर अलि सारमा गएर मनन गर्ने हो भने, यतिमा मात्रै सिमित हुँदैन यो महिनाको विशेषता ।

त्यो किनभने धेरैलाई जोडी मिलाईदिने महिना मात्रै होईन यो । बरु धेरैको जोडी छुटाइदिने महिना पनि हो । मंसिरले जोडी मिलाउँदैन मात्रै, छुटाउँछ पनि । हामीले यतातिर चाहीँ त्यति ध्यान दिन भ्याइरहेका हुँदैनौँ । अक्सर प्रेमीहरु मंसिरमा अत्यधिक तनावमा रहने गर्छन कारण तिनका प्रेमिकाको घरमा लमीको आवतजावत निक्कै नै बढेको हुन्छ ।

केही मान्छेहरु मंसिर आउने बित्तिकै उत्साहित भए जस्तै केही मान्छेहरु भने त्रसित भइरहेका हुन्छन् । साँच्चै भन्नुपर्दा प्रेम गर्नेहरुको परीक्षा नै मंसिर महिना । जब प्रेमिकाले घरमा आफ्नो विहेको कुरा चलेको भनेर लगातार सुनाउँछे तब प्रेमीको तनावको स्केल माथी माथी जाने क्रम शुरु हुन्छ । यो महिना प्रेमकर्ताहरुको लागि परीक्षा चाहीँ कसरी हो भने, त्यो हुँदाखाँदाको प्रेमलाई तहसनहस बनाउन सक्छ यसले ।

त्यो प्रेमको आगामी बाटो कस्तो हुने भन्ने कुरा निर्धारण गर्न सक्ने सामथ्र्य राख्छ यसले । मंसिरले अक्सर महिला मित्रहरुलाई यति धेरै पारिवारिक दबाब थोपर्ने गर्छ की, अधिकांश त अन्तत: आफ्नो प्रेमलाई तिलाञ्जली दिँदै अभिभावकको निर्णय मै आत्मसमर्पण गर्न पुग्छन् । परिवार भित्र विद्रोह गर्न नसकेर बरु आफ्नै इच्छा खुम्च्याउन वाध्य हुन्छन् अधिकांश ।

एउटा अर्को रोचक कुरा के भने, प्रेम गर्नेहरुले मंसिर महिनामा जति भगवानको नाम अरु बेला विरलै लिन्छन् होला । किनकी हामी यस्ता प्रेमकर्ताहरु हौँ, जो आफ्नै सामथ्र्यमा भन्दा बढी भगवान भरोसामा टिकाइरहेका छौँ प्रेम ।

त्यो कसरी भने, हामी अधिकांश प्रेमकर्ताहरु विद्यार्थी जीवन मै छौँ । यो समय भनेको आफु स्वयम परिवारमा आश्रित हुनुपर्ने समय हो । यतिसम्म की आफ्नो मान्छेलाई गिफ्ट दिनुपर्दा आवश्यक पैसा पनि विभिन्न वाहाना बनाएर घरमा माग्नुपर्छ हामी धेरैले ।

यस्तो जीन्दगी बाँचिरहेको मान्छे जब प्रेमिकाले घरमा आफ्नो विहेको कुरा चलेको सुनाउँछे अनि अत्यधिक तनावमा पर्ने गर्छ । प्रेम र विवाह भनेका अलि भिन्दा भिन्दै कुराहरु हुन् ।

प्रेम गर्नका लागि जे जति सामथ्र्य चाहिन्छ त्यो भन्दा धेरै सामथ्र्य विवाहका लागि आवश्यक हुन्छ । जुन अवस्थामा हामी अधिकांश प्रेमकर्ताहरु पुगिसकेका हुँदैनाँै । विवाह गर्नका लागि आवश्यक पूर्वाधार तयार भइसकेको हुँदैन यतिबेलासम्म ।

त्यसैले त यतिबेला जीन्दगीको निक्कै नै जटिल समय गुज्रिरहेको भान भइरहेको हुन्छ अधिकांश प्रेमिहरुलाई । न उसलाई आफुले विवाह गर्न सकिन्छ न अरुले विवाह गरेर लगेको हेर्न सकिन्छ । यतिबेलाको एउटै वाध्यकारी अवस्था भनेको भगवान भरोसा नै हो ।

मनमनै आ आफुले पुज्ने देवतालाई जप्दै बस्नुपर्ने हुन्छ यतिबेला । जबसम्म भगवान भरोसे प्रेम गर्ने अवस्थाबाट हामी माथी उठ्दैनौँ त्यतिबेलासम्म त्यो प्रेमले विवाहको रुप धारण गर्ने कुरामा शंका उत्पन्न भइरहन्छ । तर एउटा सत्य चाहीँ के हो भने हामी अधिकांश यही भगवान भरोसे प्रेम गरिरहेका छौँ अहिले । त्यसो गर्नु वाध्यता पनि हो धेरैको ।

म त अहिले प्रेम गर्दिनँ भन्नु पनि आफैलाई ढाँट्नु मात्रै हो । किनभने प्रेम यस्तो चिज हो जुन गर्छु भनेर हुँदैन तर गर्ने मन चाहीँ लागिरहन्छ फेरी । हो, मन चाहीँ भइरहन्छ प्रेम गर्ने ।

कसैले आफुलाई अरुभन्दा फरक देखाउन “मलाई त प्रेम भन्ने कुरा नै वाहियात लाग्छ, म त गर्दिन प्रेम” भन्न त सक्ला तर अरुले विश्वास गर्न चाहीँ सकिँदैन । विश्वास गर्न सकिने कुरै हैन यो । हरेकको मनमा एउटा न एउटा मान्छेको आकृति कुँदिएको हुन्छ ।

अझ भनौँ हरेकले आफ्नो मनमा गोप्यसँग राखेको हुन्छ, मेरो पनि कोही मनको मान्छे भइदिए नि हुन्थ्यो भन्ने सोँच । कोही देखाउँछन्, कोही लुकाउँछन्, फरक यति मात्रै हो ।

प्रेमि अथवा प्रेमिकाको विहेको कुरा चल्दा मनमा भूकम्पको धक्का महसुस किन हुन्छ त हामीलाई ? किन छट्पटी छट्पटी मात्रै भइरहन्छ त ? सोझो अर्थमा बुझ्दा आफुले यति धेरै माया गरेको मान्छे अब आफुबाट अलग्गिन्छ भनेर नै हो मनमा औडाहा हुने । तर सत्य यही भएपनि, यही मात्रै चाहीँ होईन । कहिलेकाहीँ सत्यता भित्रका कारक तत्वहरु झन् बढी रुचीकर हुन्छन् । यहाँ पनि त्यस्तै हुन्छ ।

पहिलो कुरा, जब हामी कसैसँग प्रेम सम्बधमा हुन्छौँ र त्यो सम्बन्धमा दुवै इमान्दार छन् भने सामान्यतया उनीहरु एकअर्कासँग विवाह गर्ने सपना लिएर बसेका हुन्छन् । यसो भन्नुको अर्थ के पनि हो भने, त्यो सम्बन्धको उत्कर्ष भनेकै आफुहरु श्रीमान श्रीमती बन्नु हो ।

प्रेम गरिरहँदा हामीलाई आफुले प्राप्त गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण र अन्तिम वस्तु नै प्रेमी अथवा प्रेमिका हो भन्ने लाग्छ । त्यो किनभने, त्यो सम्बन्धमा हाम्रो एकखाले स्वार्थ जोडिएको हुन्छ । उसैसँग विवाह भयो भने चाहीँ आफ्नो जीन्दगी सँधै खुशीसाथ बिताउन पाइन्छ भन्ने स्वार्थ । विवाह भइहाल्यो भने पनि ठ्याक्कै त्यस्तै सँग त बित्दैन जीन्दगी, तरपनि विहेपूर्व सबैले सोँच्ने कुरा चाहीँ त्यही नै हो ।

एउटी आमाले आफ्ना सन्तानलाई गर्ने मायालाई अपवाद मानेर कुरा गर्नुपर्दा एउटा साश्वत सत्य के हो भने, हामी सँसारमा सबैभन्दा बढी आफैलाई माया गर्छौँ । हो, आफैलाई माया गर्छौँ हामी । यतिसम्म की आफुलाई कसैको माया चाहिएर नै उसलाई पनि माया गरिदिन्छौँ हामी । नत्र त आफुले माया गरिरहे भइगयो नि किन उसले पनि आफुलाई माया गर्नैैपर्छ भन्ने मान्यताबाट निर्देशित हुन्छौँ त हामी ।

अनि आफुलाई माया गर्ने त्यो मान्छे पनि विस्तारै आफ्नै अभिन्न अंग जस्तो भइसकेको हुन्छ । अर्थात उ बिनाको आफ्नो जीवन नै अपूर्ण जस्तो लाग्ने भइसकेको हुन्छ हामीलाई । जब आफुलाई माया गर्ने मान्छेको विहेको कुरा चल्छ नि, त्यतिबेला हामीलाई आफ्नो सबैभन्दा ठुलो सम्पत्ति कसैले लुट्न लागेको आभाष हुन्छ ।

अनि हामीलाई अत्यधिक तनाव हुनेगर्छ । किनभने उ आफुबाट टाढा जानु भनेको एकजना व्यक्ति मात्रै टाढा हुनु नभएर आफ्ना सपनाहरु एकैपटक स्वाहा हुनु हो, जुन सहन निक्कै नै सकस हुन्छ हामीलाई ।

अनि अर्को कारण चाहीँ के पनि हो भने, हामी आफुलाई निक्कै नै मुल्यवान चिज आफुबाट खोसिएकोमा भन्दा बढी त्यो अरुले पाएकोमा दुखी हुन्छौँ । परापूर्व कालदेखी चलिआएको मानवीय स्वभाव नै यही हो । प्रेम सम्बन्धमा पनि यही कुरा लागु हुन्छ ।

उ आफु सँग छुट्टिने कुराले भन्दा अर्काको बन्ने कुराले धेरै पिडा दिन्छ हामीलाई । उसले आफुसँग देखेका सपना नष्ट भयो भनेर मात्रै सोँच्दैन मान्छेले । बरु उसले आफुसँग जे जे सपना देखेको थियो अब त्यो सपनाको अंशबाट उसले आफुलाई निकालेर त्यो ठाउँमा अर्को व्यक्तिलाई राख्छ र सपना साकार बनाउँछ भन्ने कुराले चाहीँ भत्भती पोल्न थाल्छ । आफ्नो सन्तान फेल भएकोमा भन्दा छिमेकीको सन्तान पास भएकोमा चित्त बढी चित्त दुखाउने स्वभाव जो हुन्छ मान्छेको ।

मंसिर महिनाले प्रेमकर्ताहरुलाई यति धेरै तनाव दिएको हुन्छ की उनीहरु कहिले यो महिना सकिएला भन्ने सोँचेर बसिरहेका हुन्छन् । जब कारक तत्व आन्तरिक भन्दा ज्यादा बाह्य भइदिन्छ अनि परिणाम हाम्रो बशमा हुँदैन । हामी त त्यो परिणाम स्वीकार्नैपर्ने परिस्थितिको दास मात्रै हुन्छौँ त्यतिबेला ।facebook wall 

Leave a Reply

Your email address will not be published.