नेकपा विवाद : शेरधन र डोरमणी विरुद्ध पनि हस्ताक्षर सुरु

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाका बहुमत सांसदले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेलगत्तै बागमती प्रदेशमा पनि मुख्यमन्त्री पौडेलविरुद्ध हस्ताक्षर संकलन सुरु भएको छ । पूर्वमाओवादी समूहबाट मुख्यमन्त्री बनेका शाहीविरुद्धको अविश्वास प्रस्तावको नेतृत्व प्रधानमन्त्री केपी ओलीनिकट सांसद यामलाल कँडेलले गरेका छन् ।

कर्णाली प्रदेशलाई काउन्टर दिनका लागि बागमती प्रदेशमा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यकै समर्थनमा पूर्वमाओवादी समूह र वरिष्ठ नेता नेपाल समूहनिकट ४२ जना सांसदले साउनमै हस्ताक्षर गरिसकेका छन् । बागमती प्रदेशको एक सय १० सिटमा नेकपाको ८० सिट छ । उनीहरुले केन्द्रको ग्रिन सिग्नल कुरेर बसेको बताइएको छ ।

नेकपाका सांसदहरू पशुपति चौलागाईं, राजेन्द्र पाण्डेसहित लक्ष्मण लम्साल, मुनु सिग्देललगायतले हस्ताक्षर अभियानको नेतृत्व गरेका छन् । गत २६ साउनमा हेटौँडामा जिल्ला समन्वय समितिको पाँचौँ सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले आफूलाई हटाउन असन्तुष्टले हस्ताक्षर संकलन भएको सार्वजनिक रूपमै पुष्टि गरेका थिए ।

कर्णाली प्रदेशजस्तै प्रदेश १ मा पार्टीको अन्तर्विरोध संसदीय दलमा देखिए मुख्यमन्त्री शेरधन राईको पनि पद धरापमा छ । ९३ सांसद रहेको प्रदेश सभामा ५१ पूर्वएमाले, १६ पूर्वमाओवादीसहित नेकपाका ६७ सांसद छन् । प्रदेश संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री राईले २६ र प्रदेश इन्चार्ज भीम आचार्यले २४ मत प्राप्त गरेका थिए भने एक मत बदर भएको थियो ।

वरिष्ठ नेता नेपालनिकट आचार्यले आफू पार्टीको सिनियर र प्रदेश इन्चार्जसमेत रहेको भन्दै सुरुदेखि नै मुख्यमन्त्रीमा दाबी गर्दै आएका छन् । पार्टी समीकरणमा प्रचण्ड र नेपाल एक ठाउँमा उभिएको अवस्थामा मुख्यमन्त्री राईलाई पद जोगाउन हम्मे पर्नेछ । गत २६ भदौमा सम्पन्न स्थायी समिति बैठकले संघीय मन्त्रिपरिषद् र प्रदेश सरकार पुनर्गठन गर्ने प्रस्ताव पारित गरेको थियो ।