आज साउनको पहिलो सोमबार : पशुपति मन्दिर नखुल्ने

काठमाण्डाै – आज साउनको पहिलो सोमबार । अघिल्ला वर्षहरुमा पशुपतिमा रातिदेखि नै दर्शनार्थीको घुईंचो लाग्थ्यो । तर यस वर्ष पशुपति मन्दिर सुनसानजस्तै छ । पशुपति क्षेत्र विकास कोषले मन्दिर खोल्न असमर्थ रहेको जनाएको छ ।

कोरोना भाइरसको जोखिमका कारण गएको चैत ११ गतेदेखि नै बन्द गरिएको पशुपतिनाथको मन्दिर आज पनि नखुल्ने भएको हो । सरकारले भिडभाड हुने सार्वजनिक ठाउँ, मन्दिर, विद्यालय लगायत नखोल्ने निर्णय गरेकाले साउन महिनाको पहिलो सोमबार भए पनि दर्शनार्थीका लागि मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदिप ढकालले जानकारी दिनुभयो ।

ढकाल भन्नुहुन्छ, ‘दर्शनार्थीको आस्थाको हामी सम्मान गर्छौं, तर कोरोनाको जोखिम उच्च रहेकाले मन्दिर नखुलाउन हामी बाध्य छौँ । यसलाई यहि हिसाबले बुझिदिन भक्तजनलाई आग्रह गर्छौं ।’

उहाँले कोरोनाको जोखिम कायमै रहेकाले घर घरमा नै बसेर शिवको आराधना गर्न आग्रह गर्नुभएको छ । पशुपति मन्दिर मात्रै नभएर अन्य ठाउँका मन्दिरमा पनि नजान पशुपति क्षेत्र विकास कोषको सुझाव छ ।

महामारीको विषम परिस्थिति भएकाले यस्तो बेला घरमा नै पूजापाठ गर्न कोषले आग्रह गरेको हो ।