हटाउन लाग्यो भनेर रुवाबासी गर्नु शोभनीय भएन: कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफूलाई भारतले हटाउन खोजेको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले प्रष्ट्याउनु पर्ने बताएको छ।

मदन भण्डारीको जन्मोत्सवका अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ नक्सा छापेपछि भारतले आफूलाई हटाउन खोजेको बताए थिए।

प्रधानमन्त्रीबाट सार्वजनिक रूपमा उक्त भनाइ आएपछि सोमबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतले हटाउन खोज्दैछ भन्ने प्रधानमन्त्रीले नै भनेपछि नेकपाले यसबारे देशलाई प्रष्ट्याउन जरूरी भएको बताएका हुन्।

शर्माले ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै भनेका छन्- भारतले हटाउन खोज्दैछ, प्रधानमन्त्रीले नै भनेपछि नेकपाले देशलाई प्रष्टाउन जरूरी छ।

प्रधानमन्त्री बनाउन र हटाउन नेकपासँग संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासँग छ कि छैन?,’ उनले प्रश्न गरेका छन्, ‘छ भने त्यसको प्रयोग गर्ने या नगर्ने जिम्मेवार विवेक उपर नेकपाको स्वतन्त्र हक के सुरक्षित छैन?’